काठमाडौँ–गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका ८ डुम्रेकोट, लाहुरे खोचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुने गरी रोकथामको प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री खाणको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोसीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुंगा भर्ने र बालुबा बोरामा भरेर कटान तर्काउने कार्य भइरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।
‘नदीले कटान सुरु गरेपछि अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले कटान रोक्ने प्रयास गरिरहेका छन्। बहाब ठूलो भएकाले समस्या भइरहेको छ। गृहमन्त्रीज्यूले केन्द्रबाटै पहलकदमी र निर्देशन दिएकाले कटान रोक्ने प्रयास भइरहेको छ,’ प्रजिअ यादवले भने।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिँचाईसचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायबमहानिरीक्षक (डिआइजी) कमल गिरीलगायतलाई टेलिफोन गरी तत्काल कटान रोक्न पहल कदमी लिन निर्देशन दिएका थिए।
सशस्त्र प्रहरी बलका डिआइजी गिरीले गृहमन्त्रीले कटान रोक्नका लागि तत्काल पहल कदमी लिन निर्देशन दिएको बताए। अहिले सशस्त्रको टोली कटान क्षेत्रमा नै रोक्ने प्रयासमा रहेको उनले बताए।
यो क्षेत्रमा गत वर्ष पनि कोसी नदीले कटान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।