काठमाडौं– काठमाडौं महानगरपालिको नगर प्रहरीले शुक्रबार बिहान सडक पेटीमा मकै बेच्दै आएकी महिलामाथि अभद्र ब्यवहार गरेको भन्दै आलोचना भएको छ।
बालुवाटारको सडकमा हरियो मकै बेच्दै आएकी महिलाको ठेला खोस्दै नगरप्रहरीले उनीमाथि लछार–पछार गरेको थियो।
सामाजिक सञ्जालमा पोस्ट भएको भिडिओमा दुई जनाले उक्त ठेला नलैजान आग्रह गरेको तर नगर प्रहरीले गाडीमा हालेर लगेको देखिन्छ।
सडकभरी मकै छर्दै महानगरको नगरप्रहरीले उक्त ठेला उठाएको देखिन्छ। महानगरले यसअघि निर्धारित स्थानभन्दा अन्यत्र र तोकिएको समयभन्दा अरु समयमा सडकपेटीमा व्यापार गर्न नपाउने भनेको थियो।
यस विषयमा कठमाडौं महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्ले महानगरले उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको र आफू नगर परिषद्मा व्यस्त भएका कारण थप छलफल र कुराकानी नभएको बताए।
उनले नगर प्रहरीले किन ठेला उठाएको हो र अरु कुरा के हुन् भन्ने विषयमा आफूले बुझेपछि मात्रै प्रतिक्रिया दिनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।