काठमाडौं– समाजको रीतिले महिलालाई पुरुषसरह व्यवहार गर्दैन। त्यसमा पनि पुरुषको बाहुल्यता भएको पेसामा महिलाको उपस्थितिलाई आश्चर्यको रुपमा हेरिन्छ। भारतको बिलासपुर वन प्रभागमा भर्खर सरुवा भएकी विद्या भिन्सेन्ट (विद्या बालन अभिनित) भने यी सबै रीति र बाध्यताका बीच वन्यजन्तु र मानिसबीच भइरहेको द्वन्द्वको समाधानतर्फ केन्द्रित हुन्छिन्।
बाघको बासस्थान वनमा हुनुपर्ने हो। तर, बाघ वन छाडेर मानिसको बस्तीतर्फ आकर्षित भएको छ। मानिसले बाघको बासस्थान वनमा आफ्नो अतिक्रमण बढाए पनि बाघ आफ्नो बासस्थानको अभावमा मान्छेको बस्तीतर्फ लम्किने जोखिम बढेको अवस्था छ। विद्याले वनका बाघलाई वनमै र बस्तीका मानिसलाई बस्तीमै सुरक्षितसँग राख्नुपर्ने हुन्छ। जंगलको बाघले वनमा आएका मानिस र चौपाया माथिको आक्रमणले स्थानीय नागरिक र निकाय पनि समस्यामा परेका हुन्छन्। मानिससँग वनमा नजानुको अर्को विकल्प छैन।
सन् २०२१ मा प्रदर्शनमा आएको विद्या बालन मुख्य भूमिकामा रहेको फिल्म ‘शेरनी’ यही विषयवस्तुमाथि आधारित छ। अमित भी मसुरकारको निर्देशनमा बनेको यो फिल्ममा वन्यजन्तु र मानिस बीचको द्वन्द्व र वन्यजन्तुको संरक्षणको पक्षलाई वकालत गरिएको छ। जंगलमा मानिसमाथि आक्रमण गरिरहेको बाघबारे विस्तृत जानकारी लिएर अध्ययनमार्फत् वन्यजन्तु र मानिसबीच भइरहेको हिंसात्मक द्वन्द्वको समाधानतर्फ फिल्म उन्मुख छ।
‘शेरनी’को कथाले बढिरहेको वन्यजन्तु र मानिसबीचको द्वन्द्वलाई चित्रण गर्छ। विश्वव्यापी रुपमा नै शेरनीजस्ता थुप्रै फिल्महरुको निर्माण भएका छन्, जसमा मानिस र वन्यजन्तु बीचका सम्बन्धको पक्षलाई समेटिएको छ। बलिउड, तमिल, तेलगुजस्ता भारतीय फिल्म क्षेत्रदेखि हलिउड हुँदै अन्तर्राष्ट्रिय भाषा सम्ममा यस्ता थुप्रै फिल्महरु निर्माण भएका छन्, जसले वन्यजन्तुको संरक्षण, मानव वन्यजन्तु द्वन्द्वलगायतका पक्षहरुमा वकालत गरेका छन्।
बलिउडमा वन्यजन्तु संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व केन्द्रित फिल्मको संख्या उल्लेख्य मात्रामा छ। निकै चर्चित फिल्म ‘काला पर्वत’ देखि गत वर्ष मात्रै प्रदर्शनमा आएको तमिल तथा तेलगु फिल्म ‘हाथी मेरा साथी’ जस्ता वैकल्पिक र वन्यजन्तुको मुद्दामा केन्द्रित फिल्महरु भारतीय फिल्म क्षेत्रमा निर्माण भएका छन्।
सन् १९७१ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘काला पर्वत’ यीनै मध्येको एक हो। एम.एस सत्युको निर्देशनमा बनेको यो फिल्ममा रेश्मा पासा, प्रिन्स प्रदिप लगायतका कलाकारको अभिनय रहेको छ।
वन क्षेत्रमा बस्ने वस्ने वन्यजन्तुमाथि वातावरणीय प्रभावले परेको असरपछि मानिस सँगको सम्बन्धबारे फिल्मले कथा बोकेको छ। हात्तीको बथान वन क्षेत्रमा खडेरी लागेपछि पानी तथा खाद्यान्नका लागि जंगल छाडेका हुन्छन्। वनको एक अधिकारीले तीमध्ये केहीलाई भेटेपछि उनीहरुको हेरचाह गरेको विषय फिल्ममा समेटिएको छ। वन्यजन्तु र मानिसले सहअस्तित्व कायम गरेर बस्ने हो भने वातावरणमा आउने असरदेखि दुवै प्रजातीको संरक्षण हुनसक्ने पक्षलाई फिल्ममा देखाइएको छ।
त्यस्तै, सन् २००५ मा प्रदर्शनमा आएको ‘काल’ पनि भारतमा हुने बाघ चोरी शिकारीको विषयमा आधारित फिल्म हो। फिल्ममा वन्यजन्तुले मानिसमाथि गरिरहेको आक्रमण र यसको कारणको विषयलाई समेटिएको छ। भारतको जिम कोर्बेट राष्ट्रिय निकुञ्जमा छायांकन गरिएको फिल्ममा वन क्षेत्रमा आश्चर्यजनक रुपमा भइरहेको मानिसको हत्या (मृत्यु) र त्यसपछिको कारण खोजेको कथा देखाइएको छ। फिल्मलाई सोहम शाहले निर्देशन गरेका थिए।
गत वर्ष प्रदर्शनमा आएको तेलगु तथा तमिल भाषाको फिल्म ‘हाथी मेरा साथी’ (स्थानीय भाषामा कादन) पनि वन्यजन्तु र मानिसबीचको सम्बन्धलाई लिएर बनेको छ। प्रभु सोलोमनले निर्देशन गरेको यो फिल्मले वन्यजन्तुमाथि हुने दमनको विषयलाई चित्रण गरेको छ। राना दग्गुबत्तीको मुख्य अभिनय रहेको यो फिल्ममा उनले एक वातावरण संरक्षण अभियन्ताको रुपमा काम गरेका छन्।
वन्यजन्तुको बासस्थानको क्षेत्रमा राजनीतिज्ञले शहर बसाउन खोज्दा संरक्षणकर्मीले उठाएको आवाज र दुई बीच भएको संघर्षको विषयमा फिल्म आधारित छ। हात्तीको बसोबास रहेको क्षेत्रमा हात्तीको हत्या गर्ने हेतुले पानीका स्रोत सुकाउने, उनीहरुमाथि हमला गर्नेजस्ता क्रियाकलाप फिल्ममा समेटिएका छन्। यी सबैका बाबजुद वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि उभिएको एक्लो योद्धाको कथा फिल्ममा छ, जसले बोल्न नसक्ने हात्तीहरुको पक्षबाट आवाज उठाउँछन्।
‘हाथी मेरा साथी’ फिल्मको कथाले विकास निर्माणका कारण वन्यजन्तुमा कस्तो असर पर्न सक्छ भन्ने अर्थ्याउँछ। सँगै विकास गर्दा वन्यजन्तुमैत्री विकास आवश्यक छ र यसको बेवास्ता गरिनु हुँदैन भन्ने पक्षलाई फिल्मले समेटेको छ।
बलिउडमा जस्तै अन्य देशका फिल्महरुमा पनि वन्यजन्तुको संरक्षण तथा मानव वन्यजन्तु द्वन्द्वको विषयलाई लिएर उल्लेख्य फिल्महरु निर्माण भएका छन्। अहिलेको समयको बहस हुनुपर्ने र उठाइनुपर्ने मुद्दा भएकाले पनि यो विषयतर्फ सिनेमाकर्मीहरुको आकर्षण अन्तर्राष्ट्रिय देशहरुमा पर्याप्त छ।
‘किंग कङ्ग’ जस्ता क्लट क्लासिक फिल्मदेखि अल्फ्रेड हिचकक निर्देशित हरर जनरासमेत रहेको ‘द बर्डस्’जस्ता फिल्महरुले वातावरण तथा वन्यजन्तु र मानिसबीचको सम्बन्धलाई चित्रण गरेका छन्।
‘किंग कङ्ग’ जस्ता क्लट क्लासिक फिल्मदेखि अल्फ्रेड हिचकक निर्देशित हरर जनरासमेत रहेको ‘द बर्डस्’जस्ता फिल्महरुले वातावरण तथा वन्यजन्तु र मानिसबीचको सम्बन्धलाई चित्रण गरेका छन्।
अस्कर अवार्ड जित्न सफल कोरियाली फिल्म निर्देशक बोङ–युन–होले निर्देशन गरेको फिल्म ‘ओक्जा’को कथा वन्यजन्तुमाथि हुने दमनको एउटा शसक्त उदाहरण हो। ओक्जा अर्थात् एक प्रकारको ठूला सुँगुरजस्तै देखिने जनावरमाथि भएको दमन फिल्ममा प्रस्तुत छ। मासुजन्य परिकारका लागि अमेरिका तस्करी गर्न लागिएको यो जनावरलाई बचाउने संघर्षको कथा बोकेको फिल्मले पुँजीवाद र घनाढ्यहरुका सोख र रहरले वन्यजन्तुमाथि कस्तो दमन भइरहेको छ भन्ने देखाएको छ।
‘लाइफ अफ पाइ’ पनि यस्तै फिल्महरु मध्येमा पर्छ, जसले मानिस र वन्यजन्तु बीचको सम्बन्धलाई प्रस्तुत गरेको छ। नदीमा आएको आँदीका कारण एउटा डुंगामा चढेर बाँच्न सफल भएको एक युवक र एक बाघको कथा प्रस्तुत गरेको यो फिल्म निकै चर्चित फिल्म पनि हो।
बहसको विषयका रुपमा स्थापित भइरहेको वन्यजन्तुको संरक्षण तथा मानव र वन्यजन्तुको सम्बन्धलाई चित्रण गरिएका यस्ता थुप्रै फिल्महरु छन्। यिनीहरुमध्ये कतिपयमा मानव वन्यजन्तु द्वन्द्वको कथा र संघर्ष प्रस्तुत भने कतिपयमा मानिस र वन्यजन्तुको सम्बन्धलाई चित्रण गरिएको छ। प्रायः यस्ता फिल्महरुले हामीले देखिरहेको र सुनिरहेको वन्यजन्तु माथिको ज्यादतीको चित्रण गर्नेदेखि कतिपय अवस्थामा मानव वन्यजन्तु द्वन्द्वको समाधानका लागि एउटा मार्ग खोज्ने सम्मका पक्षहरु समातेका छन्।
पर्दामा संरक्षण देखाउँदाको कठिनाइ
वन्यजन्तु संरक्षण, वातावरणीय अवस्थाहरु भनेका गम्भीर विषय हुन्। सिनेमामा यी पक्षहरुबारे देखाउँदा पनि उत्तिकै कठिनाइ हुन्छ। एकातिर वन्यजन्तुलाई चित्रण गर्नुको कठिनाइ हुन्छ भने प्रकृति र मानिस बीचको सम्बन्धलाई सम्बोधन गर्नुमा पनि कठिनाइ हुन्छ।
‘शेरनी’ फिल्मकी लेखक आस्था टिकुले उक्त फिल्म लेखिरहँदा यस्तो गम्भीर विषयको दायरा बुझेर संवेदनशील विषयमाथि फिल्म लेख्नु आफूलाई चुनौतीपूर्ण भएको बताएकी छन्। हिन्दुस्तान टाइम्समा उनले लेखेको लेखमा आस्था भन्छिन्, ‘महिनौको अनुसन्धानपछि यस्तो विषयमा कथा बुझ्ने हुनका लागि यसको सिद्धान्त पनि स्पष्ट हुनुपर्छ। अर्कातिर मानिस र वन्यजन्तुको द्वन्द्व बढाउने कारणहरुको बारेमा पनि उत्तिकै ज्ञान हुनुपर्ने रहेछ।’
प्राविधिक र अनुसन्धानमा आधारित भएर फिल्म लेखिँदा त्यो वृत्त चित्रतर्फ मोडिन सक्ने अर्को जोखिम हुन्छ। यर्थाथ कुराभन्दा बाहिर नगएर, तर काल्पनिकताको सुन्दरता हालेर सिनेमा बनिनुपर्ने हुन्छ। वृत्तचित्र बन्न नदिनमा पनि उत्तिकै गाम्भीर्यता आवश्यक हुन्छ।
‘हामीले अल्पसंख्यक र पीछडिएका समुदायसँग कुरा गर्नेदेखि बाघको प्राकृतिक विशेषताका बारेमा चित्रण गर्नु थियो,’ आस्था भन्छिन्, ‘यी सबै विषयहरु निकै कठिन विषय हुन्। संरक्षणको विषयमा आजको भोलि नै हुने कुनै उपाय र समाधान छैनन्। यसमा दिगो रुपमा संघर्ष आवश्यक हुन्छ भन्ने फिल्ममा देखाउनु थियो। मलाई लाग्छ, फिल्मले यो विषयमाथि एउटा दृष्टिकोण दिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।