काठमाडौं–कीर्तिपुर नगरपालिका–१ स्थित ऐतिहासिक महत्वको ‘ख्याली द्यो’ को पुनःनिर्माण गरिने भएको छ। रवीन्द्र पुरी फाउण्डेशन फर कञ्जरभेसन भक्तपुर, ख्याली द्यो संरक्षण गुठी तथा कीर्तिपुर नगरपालिकाको संयुक्त प्रयास र काठमाडौँस्थित अमेरिकी दूतावासको आर्थिक सहयोगमा ख्याली द्यो पुनःनिर्माण गर्न लागिएको हो।
बिहीबार आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले संयुक्तरूपमा क्षमा पूजा गरी उक्त ख्याली द्यो पुनःनिर्माण शुभारम्भ गरे। कूल एक करोड ३४ लाखको लागतमा सो ख्याली द्योको पुनःनिर्माण गरिनेछ।
ख्याली द्योलाई प्रेमको भगवान् मानिँदै आएको छ। यसमा अवस्थित लक्ष्मी–नारायणको मूर्ति अत्यन्त महत्वपूर्ण तथा दुलर्भ रहेको छ। शिलालेखअनुसार यस मूर्तिलाई धनपति बहाली भारोले सन् १६९४ मा बनाएका हुन्। अन्य मूर्तिमा भएको जस्तो नभई यस मूर्तिमा लक्ष्मीको हात नारायणको काँधमा साथै नारायणको हात लक्ष्मीको काँधमा अवस्थित देखिन्छ।
सो मूर्तिमा पूजाआजा गरेपश्चात् प्रेमी प्रेमिकाको सुमधुर सम्बन्ध रहनुका साथै अविवाहितको विवाह हुने जनविश्वास रहेको ख्याली द्यो संरक्षण गुठीले जनाएको छ। पुनःनिर्माण परियोजनाअन्तर्गत मन्दिरलाई पुरानो स्वरूपमा आकर्षक ढङ्गले पुनर्निर्माण गरिनेछ । सोही स्थानमा १६ खुट्टे सत्तलसमेत निर्माण गरिनेछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।