काठमाडौं- १६ दिनभित्र तीन पटक हिमालको आरोहण गरेर एक आरोहीले विश्व कीर्तिमान कायम गरेका छन्।
साहसी आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका हुन्।
उनले संखुवासभाको मकालु गाउँपालिकामा पर्ने ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका हुन्।
मकालु विश्वको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल हो। शेर्पाले सन् २०२२ को मे १२, २० र २८ तारिकमा मकालुको सफल आरोहण गरेका हुन्।
शेर्पाले सोहि समयमा चौंथो पटकको आरोहण भने खराब मौसमका कारण पूरा गर्न नसकी फर्किएको बताए।
'चौथो पटकको आरोहण पूरा गर्न ३० मिटर बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भएँ' हिमाल आरोही शेर्पाले भने, 'यो विश्व कीर्तिमान हो र गिनिजबुकमा नाम रहन्छ भन्ने सोचेको छु ।' आफूले रेकर्डकै लागि नभई आफ्नो गाउँ र ठाउँ चिनाउने उदेश्यका साथ हिमाल आरोहण गरेको बताए।
ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्ज् प्रा.लिको सहयोगमा १६ दिनमा तीन पटक मकालु हिमाल आरोहण गर्न सहज भएको उनले बताए।
सामान्यतया एक पटक मकालु हिमाल आरोहण गर्न एक महिना भन्दा बढी समय लाग्ने आरोही शेर्पाले बताए।
हिमाल अरोहणबाट लगातार ख्याति कमाउदै आएका ३० वर्षीय युवा आरोही शेर्पाले एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन्।
शेर्पाले २० वर्षको उमेरदेखि हिमाल आरोहण गर्दै आएका हुन्। उनी हालसम्म ८ हजार माथिका हिमाल १४ पटक पुगि सकेका छन्। संखुवासभाका स्थानीयले उनलाई मकालु लाक्पाको उपनाम दिएका छन्।
लाक्पाले यो भन्दा पहिले मकालु २ पटक,सगरमाथा १ पटक,मनास्लु हिमाल २ पटक,ल्होत्से १ पटक आरोहन गरि सकेका छन्। सेभेन समिट ट्रेकिंगका फिल्ड मेनेजर समेत रहेका शेर्पाले बिस्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरि सकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।