काठमाडौं– विश्वको सबैभन्दा शान्तिप्रिय देशमा नेपाल ७३औं स्थानमा उक्लिएको छ। ग्लोबल पिस इन्डेक्सले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३औं स्थानमा उक्लिएको हो।
विश्वको सबैभन्दा शान्तिप्रिय देश भने पुनः आइसल्यान्ड बनेको छ। दोस्रो स्थानमा न्यूजिल्यान्ड र तेस्रोमा आयरल्यान्ड छन्। आइसल्यान्ड र न्यूजिल्यान्ड गत वर्ष पनि पहिलो र दोस्रो स्थानमा थिए। यता, आयरल्यान्ड गत वर्ष आठौं स्थानमा थियो।
विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबैभन्दा अशान्त देश अफगानिस्तान बनेको छ। त्यसपछि यमन र सिरियाको नाम उल्लेख छ। युक्रेन युद्धमा होमिएको रुस चौंथो अशान्त देश बनेको छ।
विश्वको १० शान्तिप्रिय देशमा डेनमार्क चौंथो, अस्ट्रिया पाँचौ, पोर्चुगल छैटौं, स्लोभानिया सातौं, चेक गणराज्य आठौं, सिङ्गापुर नवौं र जापान दशौं स्थानमा छन्। ग्लोबल पिस इन्डेक्सले घरेलु तथा अन्तर्राष्ट्रिय संघर्ष, समाजिक सुरक्षा, सुरक्षा र सैन्यकरणको अवस्थालगायत २३ वटा मापदण्डको अध्ययन गरेर सबै देशको मूल्यांकन गर्छ।
नेपाल गत वर्ष ८०औं स्थानमा थियो। यस्तै, छिमेकी देश भारत यसपालि ३ स्थान माथि उक्लिदै १ सय ३५ स्थानमा पुगेको छ। दक्षिण एसियामा सबैभन्दा शान्त देश भुटान हो। भुटान ग्लोबल पिस इन्डेक्समा १९औं स्थानमा छ। गत वर्ष भुटान १६औं स्थानमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।