काठमाडौं– काठमाडौंको छिमेकी पार्टी प्यालेसमा एक जनामाथि खुकुरी प्रहार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका– ६ घर भई गोकर्णेश्वर नगरपालिका– ६ जोरपाटी बस्ने ३० वर्षीय शरण पोखरेल, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका–४ का २२ वर्षीय कविराज तामाङ र सोही ठाउँका २० वर्षीय सुजन श्रेष्ठ रहेका छन्।
यही असार १ गते राति ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–५ नारायणटारस्थित छिमेकी पार्टी प्यालेस नजिक मादक पदार्थ सेवन गरेका केही मानिसहरु झगडा गरी धारिलो हतियार समेत प्रहार गरेको भन्ने सूचनापछि प्रहरी बृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोली तत्कालै परिचालित भएको थियो।
घटनास्थलमा पुग्दा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८ घर भई काठमाडौं कपन बस्ने ३५ वर्षीय धनबहादुर श्रेष्ठको टाउकोमा धारिलो हतियारको चोट लागेको अवस्थामा फेला पारेको थियो।
विवाहको पार्टीमा भएको सामान्य झगडाको निहुँमा रिसईवी राखी श्रेष्ठमाथि खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। त्यसपछि प्रहरीले फरार रहेका तीन जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट एकथान खुकुरी र एकथान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनामाथि मुलुकी अपराध (संहिता) ऐन,२०७४ अनुसार ज्यान सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।