काठमाडौं– सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानव वेचविखन ओसारपसार तथा बाल यौन दुर्व्यवहारकाे कसुरमा मुद्दा दर्ता भएको छ।
उक्त कसुरलाई थप पुष्टि गर्न घटनासँग सम्बन्धित पात्रहरुसँग प्रहरीले बयान लिएको थियो। सो क्रममा प्रहरीले पूर्वमिस नेपालसमेत रहेकी माल्भिका सुब्बासँग बयान लिएको थियो। बयानका क्रममा सुब्बाले पीडित युवतीले आफूलाई फोन गर्दै मनोज पाण्डेको बारेमा कुरा गर्नुछ भन्ने जानकारी गराएको बताएकी छिन्।
‘उक्त सौन्दर्य प्रतियोगिता भएको अन्दाजी ३ महिनापछि पीडितले मलाई फोन गरी तपाईंसँग कसुरदार मनोजको बारेमा केही कुराहरू गर्नु छ भन्नु भएको थियो। तत्काल म पारिवारिक अवस्था तथा म मानसिक तनावमा रहेकाले मैले उनलाई अहिले म तपाईसँग कुरा गर्न असक्षम भएको कारणले गर्दा पछि कुरा गरौंला भनी जानकारी गराएको थिएँ’, सुब्बाले बयानमा भनेकी छन्।
उक्त फोनपछि पीडित युवतीसँग उक्त विषयमा कुरा नभएको सुब्बाको भनाइ छ। सामाजिक सञ्जाल मार्फत आफूलाई अन्याय भएको भिडियो सार्वजनिक गरेपछि उक्त घटनाबारेमा आफूले जानकारी पाएको सुब्बाले बयान दिएकी छन्।
‘पीडितप्रति मेरो सम्पूर्ण सहानुभूति छ र मैले यो विषयमा सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा बताइसकेकी छु’, माल्भिकाले प्रहरीसँगको बयानमा भनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।