काठमाडौं- रोल्पा कारागारका कैदी सुन्दर हरिजनले आत्महत्या गरेको विषयमा छानबिन गर्न बनेको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका सहसचिव सूर्य सेढाईं नेतृत्वको समितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन मन्त्री खाणलाई बुझाएको हो।
गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताए। खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा प्रतिवेदनले दोषी औल्याएकालाई कारबाही गरिने पनि बताए।
घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो। समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए।
समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ।
प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न साफारिस गर्दै त्यसो भए कारागार प्रशासन सुध्रन सक्ने समिति संयोजक सेढाईले बताए।
समितिले २०७७ मैसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।