काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध आफ्नै पार्टी कन्जरभेटिभले ल्याएको अविश्वासको प्रस्ताव विफल भएको छ। कन्जरभेटिभ पार्टीका केही सांसदले पत्र लेखेर जोनसनको नेतृत्व नचाहेको जनाएपछि उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो।
सोमबार भएको मतदानमा प्रधानमन्त्री जोनसनले ५९ प्रतिशत मत पाए। कन्जरभेटिभ पार्टीका २११ सांसदले प्रधानमन्त्री जोनसनको पक्षमा मतदान गरे भने १४८ सांसदले विपक्षमा मतदान गरेका थिए। जसको मतलब अब उनीविरुद्ध एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइनेछैन।
अविश्वास प्रस्तावको नतिजाले जोनसनले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बाटो खुलेको छ। तर, आलोचकहरू भन्छन्– जोनसनविरुद्ध बढ्दो विद्रोहले उनको पकड कमजोर भएको देखाउँछ।
जोनसनको पक्षमा खसेको मतको पूर्वप्रधानमन्त्री टरिजा मेविरुद्ध अविश्वासको प्रस्तावमा खसेको भन्दा कम हो। सन् २०१८ मा टरिजाले ६३ प्रतिशत मत पाएकी थिइन्।
कोरोना महामारीका बेला मापदण्ड उल्लंघन गरेको र १० डाउनिङ स्ट्रिटमा पार्टी गरेको विषयमा जोनसनको आलोचना भइरहेको छ। तर, लकडाउनमा पार्टीमा गएर नियम तोडेकोमा भने उनले माफी मागेका थिए। यही प्रकरण नसेलाउँदै फेरि पार्टीभित्रै जोनसनको नेतृत्वलाई लिएर आलोचना बढेको हो।
अविश्वास प्रस्तावका लागि सांसदहरूले गोप्य मतदान गरेका थिए। अविश्वास प्रस्ताव पास हुनका लागि बहुमत आवश्यक हुन्छ। उनलाई नेतृत्वमा रहिरहनका लागि १८० मत आवश्यक पर्ने थियो।
यदि उनले उक्त संख्याको मत नपाएको भए पार्टीमा नेतृत्व चयनका लागि निर्वाचन हुने थियो। जसमा जोनसन भने सहभागी हुन पाउने थिएनन्।
यसअघि डिसेम्बर २०१८ मा टरिजाले २००–११७ मतले अविश्वास प्रस्ताव जितेकी थिइन्। तर, ६ महिनापछि उनले राजीनामा दिइएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।