काठमाडौं– प्रहरीकै संलग्नतामा काठमाडौंमा ३५ लाख रुपैयाँ लुटपाट घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १ प्रहरीसहित २ जनालाई सार्वजनिक गरिएको छ। लुटपाटमा संलग्न अन्य ४ जना भने अझै फरार छन्।
लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रहरी वृत्त कमलपोखरीमा दरबन्दी भएका हवल्दार ३४ वर्षीय शालिकराम नेपाली र नुवाकोटको घ्याङफेदी घर भएका २५ वर्षीय पेम्बा तामाङलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको छ। यो घटनामा संलग्न रहेका अर्का प्रहरी कर्मचारीसहित ४ जना भने अझै फरार छन्।
यो समूहले जेठ ८ गते काठमाडौंको लैनचौरस्थित ब्याडमिन्टन कोर्टमा बोलाएर सस्तोमा सुन बेच्ने भन्दै एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लुटेको थियो।
लुटपाटपछि यो समूहले मोबाइल नै छाडेर भागेको थियो। उक्त मोबाइलको क्लुमार्फत् नै प्रहरीले अभियुक्तहरुको पहिचान गरेर पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनालाई डाँका चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।