डडेल्धुरा– जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसको तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन्। भण्डारी अमरगढी नगरपालिका–७ मा वडा सदस्यमा विजयी भएका थिए भने उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएकी थिइन्।
मुख्य निर्वाचन कार्यालय डडेल्धुराका अनुसार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका थिए।
जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध निर्वाचित भएका छन्। उम्मेदवारहरू निविरोध निर्वाचित भएको भए पनि औपचारिक घोषणा भने २२ गते हुने बताइएको छ।
दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो। जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो। सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति कांग्रेसकै नेतृत्वमा गठन भएको हो।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, अजमेरु गाउँपालिका उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो।
नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको थियो। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो। एमालले र नेकपा एकिकृत समाजवादी भने यहाँ शून्य छ।
बैतडीमा गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दै
यही जेठ २४ गते हुने जिल्ला समन्वय समिति बैतडीको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ पदका लागि १७ जनाको मनोनयन दर्ता भएको छ।
जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने एमाले एक्लैले उम्मेदवारी दर्ता गरेको छ।
जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट हेमा भट्ट (कपाडी) उम्मेदवारी दर्ता भएको छ।
खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी दर्ता भएको छ। यस्तै एमालेको तर्फबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकको मनोनयन दर्ता भएको छ।
यस्तै खुला तीन महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका यशोदा चन्द, माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना पार्कीको उम्मेदवारी दर्ता भएको छ। यस्तै एमालेबाट महिला सदस्यमा चन्द्रा जोशी (पाण्डेय) र यशोदा महरा गरेर दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ।
यस्तै दलित सदस्यमा नेपाली कांग्रेसबाट हरु नेपाली र एमालेबाट द्रोपती दयालको उम्मेदवारी दर्ता भएको छ।
जिल्ला समन्वय समितिमा पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने प्रावधान छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसंग १२ मतभार रहेको छ भने एमालेसंग ८ मतभार रहेको छ । यसरी हेर्दा समन्वय समितिमा गठबन्धनको जित हुने देखिएको छ। जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।