काठमाडौं– काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।
होस्टेलमा बस्ने छात्राहरूले यौन दुर्व्यवहारको आरोप लगाएका वार्डेन पक्राउ नगरिएको भन्दै शिक्षालय अगाडि आन्दोलन गरिएको हो।
विद्यार्थीले उक्त गुनासो प्रहरीमासमेत जाहेर गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनालाई गम्भीर रुपमा लिएको बताएका छन्।
उनले भने, ‘हामीकहाँ जानकारी आएको छ। घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेका छौं। आरोपित वार्डेनको खोजी भइरहेको छ।’
होस्टेलमा बस्ने तीनजना छात्रामाथि दुर्व्यवहार भएको बताइएको छ। छात्राहरुले अभिभावकलाई सुनाएपछि विद्यालयमा केहीबेर तनाव भएको थियो। त्यसपछि प्रहरी पुगेर घटनाबारे बुझिरहेको मैनालीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।