काठमाडौं– दिया सापकोटाको अङ्ग्रेजी बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ। दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन्।
हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्नसक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ। यस पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्ने बताइएको छ। वातावरणमैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन्।
सात वर्षको उमेरदेखि नै कथा लेख्न थालेकी दिया यस पुस्तक प्रकाशन हुँदा एघार वर्ष पूरा भएकी छिन्। पुस्तकमा जम्मा नौवटा बालकथा समेटिएका छन्। तारा सापकोटाले उक्त कथाका लागि चित्र बनाएकी छिन्।
पुस्तक बालबालिकाका लागि ऊर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ। कलम प्रकाशनले प्रकाशन गरेको ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’को मूल्य २ सय रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।