काठमाडौं- साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याएका हुन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको उनले स्पष्ट पारे।
शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भईरहेका बेला अध्यक्ष मियाँले यस्तो जवाफ दिएका हुन्।
उनले साउदी अरब सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढ्दा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गरे। अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पुर्याई सक्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिए।
'नेपाल हज समितिले तोकेको शुल्क रकमका सन्दर्भमा नेपाल हज समितिका अध्यक्ष तथा समितिका अन्य पदाधिकारीहरुलाई लक्षित गरी साउदी अरबमा हुने खाना र घरभाडा शिर्षकमा व्यापक अनियमितता गरिएको भनि गरिएको दुष्प्रचारप्रति नेपाल हज समितिको गम्भिर ध्यानाकर्षण भएको छ' उनले भने, 'हज वर्ष २०१९ मा हज यात्राका लागि कूल २, २९, ७३१ रुपैयाँ शुल्क एकीन भई हज यात्रा गरिएकोमा यस वर्ष ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम एकीन भएको सन्दर्भमा विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो। शुल्क रकम वृद्धि हुनुको मुख्यकारण साउदी अरa सरकारले निर्धारण गरेको शुल्क रकममा आएको बृद्धि नै हो।’ मियाँले भने।
समितिले छनोट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेष्ठ २३ गते भित्र जम्मा गरि सक्न पनि सचेत गराएको छ। समितिका अध्यक्ष मियाँले त्यसका लागि जेष्ठ १६ गतेको सार्वजनिक सूचना जारी गरिएको पनि बताए।
सरकारले विगत वर्षहरुमा झैं यस वर्ष पनि हजयात्राका लागि ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम तोकेको छ । आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भइरहेको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।