डडेल्धुरा– जिल्ला अस्पताल डडेल्धुरामा बिहीबार उपचाररत बालिकाको मृत्युपछि आक्रोशित बनेका आफन्तले शव बुझेका छन्। चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका आफन्त अस्पतालले छानबिन गर्ने भएपछि शव बुझ्न तयार भएका थिए।
अस्पतालमा बसेको सर्वपक्षी बैडकले तीन दिनभित्र छानबिन गरी सत्यतथ्य उजागर गर्ने बताएपछि आफन्तले शव बुझेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चेतराज भट्टले बताए।
‘अस्पतालमा बसेर छलफल भयो, अब छानबिन गर्छौं। दोषी देखिए कारबाही गर्छौं यहाँबाट नहुने भए हामी सिफारिस गर्छौं’, उनले भने। छानबिन गरी दोषी देखिएमा कारबाही गर्ने निर्णय भएपछि आफूहरुले बालिकाको शव बुझेको आफन्त राजु थापाले बताए।
बिहीबार बिहान भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। निमोनियाको आशंकामा बिहीबार बिहान ६ बजे अस्पताल भर्ना भएकी थापामगरको करिब ९ बजे मृत्यु भएको अस्पतालका निमित्त मेसु डा.भट्टले बताएका छन्।
बिरामी बालिकालाई अस्पताल पुर्याएको तीन घण्टा हुँदा पनि चिकित्सक नआएपछि बालिकाका आफन्तले प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र अस्पताल व्यवस्थापन समितिका अध्यउक्ष करुणाकर ओझासम्म गुहार मागेका थिए।
अस्पताल विकास समितिका अध्यक्षको निर्देशनपछि मात्रै चिकित्सक बालिकाको अवस्था जाँचका लागि पुगेको आफन्तको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।