काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ। ५ वर्षे अवधिको यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउँछन्।
ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो। हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११.०३ प्रतिशत मात्रै ब्याज दिन्छन्। बचतपत्रमा लगानी गर्नेले आफैं वा इच्छाएको व्यक्तिमार्फत् नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन्।
६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ। घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निशेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ। बचतपत्रका लागि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ। २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ।
देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन्। यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।