डडेल्धुरा– चिकित्सकको लापरबाहीका कारण एक बाललिकाको मृत्यु भएपछि जिल्ला अस्पताल डडेल्धुरा तनाग्रस्त बनेको छ। भागेश्वर गाउँपालिका–५ शिराडका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यमुना थापामगरको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको थियो।
निमोनियाको आशंकामा बिहीबार बिहानै ५ बजेतिर अस्पताल पु¥याइएकी यमुनालाई दुई घण्टासम्म पनि जाँचका लागि चिकित्सक आएनन्। दुई घण्टासम्म पनि चिकित्सक नआएपछि बालिकाका आफन्तले अस्पताल व्यवस्थापन समितिका अध्यक्षदेखि प्रमुख जिल्ला अधिकारीसम्म गुहारेका थिए।
तर, चिकित्सहले समय हुँदै जाँच नगरेको कारण बालिकाको मृत्यु भएको भन्दै बालिकाको आफन्तले शव उठाएका छैनन्। उनीहरूले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र मेडिकल सुपरिनन्टेन्डेन्टको सरुवा गर्नुपर्ने माग गरेको छन्।
अस्पतालमा चिकित्सक हुँदा हुँदै पनि बालिकाको अवस्था जाँचका लागि नआएको मृतक बालिकाका आफन्त राजेन्द्र थापाले बताए। श्वास फेर्न गाह्रो भएपछि अस्पताल पुर्याइएकी यमुनालाई आईसियुमा राखिएको अस्पतालका मेसु चेतनराज भट्टले बताए।
उनले भने, ‘दुई/तीन दिनदेखि उच्च ज्वरोसहित निमोनिया भएको रहेछ। हिजो राति १२ बजेतिर श्वास फेर्न गाह्रो भएपछि बिहानै अस्पताल ल्याएका थिए। उच्च ज्वरो देखेपछि आईसियूमा राखेका थियौं। त्यहिँ उनको मृत्यु भयो’, मेसु भट्टले भने।
यता अस्पताल समितिका अध्यक्ष करुणाकार ओझा भने आफूलाई ७ बजेतिर खबर आएको र त्यसपछि उपचारका लागि व्यवस्थापन गरेको दावी गर्छन्। तर, आफन्तले भने चिकित्सकको लापरबाहीकै कारण बालिकाको ज्यान गएको भन्दै आन्दोलन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।