काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटबारे प्रष्ट पारेका छन्। उनले सकारात्मक परिवर्तनका लागि सबैसँग सहकार्य अनिवार्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, 'हाम्रा लक्ष्य विशाल र पवित्र छन्। आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र वृहत सोचको आवश्यकता छ। यसका लागि सबैसँग सहकार्य अनिवार्य छ।'
उनले राजनीतिक रुपमा आफूलाई अभियानमा केही सजिलो रहेको बताएका छन्। 'किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदामात्रै रहँदैन। स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ,' उनको भनाइ छ।
उनले काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि आफूले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेको बताएका छन्। यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने बताएका छन्। समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट भएको बताए। यसलाई अन्यथा नबुझिदिन अपिल गरेका छन्।
उनले थपे, 'यसैक्रममा केही अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौं, आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौं। भेटघाटका क्रममा उहाँहरुले दिनुभएको प्रेरणाले हामीलाई थप ऊर्जावान बनाएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।