काठमाडौं– मूर्त स्वरुप केही देखिँदैन, सबै कारोबार इन्टरनेटको माध्यमबाट हुन्छ । विदेशमा रकम पठाउने र भुक्तानी समेत हुन्छ । तर, नेपालका नियामक निकायको कुनै अभिलेखमा देखिँदैन।
पछिल्लो समय पैसाको अवैध कारोबारको माध्यम बनेको बिटक्वाइनमा संलग्न सात जना पक्राउ परेपछि यसको कारोबार नेपालमा समेत फस्टाएको तथ्य बाहिर आएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिटक्वाइन (डिजिटल पैसा) को अवैध कारोबारमा संलग्न तल्लो तहका सात जनालाई पक्राउ गरेको हो । ब्युरोका अनुसार, बिटक्वाइनको खरिद–बिक्री र बिचौलियाको भूमिकामा रहेका उनीहरुले करोडौं रकम बाहिर पठाएको हुनसक्ने आशंका गरिएको छ।
‘वित्तीय कारोबारको नियमनकारी निकायकै जानकारी बिना भइरहेको अवैध कारोबार विरुद्ध कारबाही थालिएको हो, यसको सञ्जाल नेपालमा ठूलो रहेको सूचना पाएका छौं’, ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले भने।
ब्युरोले बुधबार र बिहीबार गरेको बेग्लाबेग्लै कारबाहीमा सिन्धुली कल्पवृक्ष घर भई काठमाडौं बानेश्वर बस्ने ज्ञानप्रसाद पौडेल, अर्घाखाँची घर भई बानेश्वर नै बस्ने माधव खनाल काठमाडौं ३४ का प्रशान्त प्रताप शाह, नुवाकोट बेल्टार घर भई कलंकी बस्ने बिन्दा ढकाल, मिङमार तामाङ, दमन बस्नेत र मनिषकुमार गिरीलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार, बिटक्पाइन एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । हाल विश्वमा एक हजार एक सयभन्दा बढी यस्ता बिटक्वाइन सञ्चालनमा छन् । ओपन सोर्स सफ्टवेयरको रुपमा सातोसी नाकामोतोको नाममा सन् २००९ मा इन्टरनेटमा बिटक्वाइनको प्रयोग सुरु भएको थियो।
नेपालमा यसको प्रयोग सन् २०१३ बाट सुरु भएको अनुमान प्रहरीले गरेको छ । सन् २००९ मा अमेरिकी १० सेन्टमा सुरु भएको बिटक्वाइनको कारोबार हाल ४ हजार ३९३ अमेरिकी डलरसम्म पुगेको छ । यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोबार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन।
बिटक्वाइनको कारोबारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने भएकाले राष्ट्र बैंकले यसमा रोक लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।