काठमाडौं- तारा एअरको विमान दुर्घटना जाँचका लागि गठन भएको आयोगले काम सुरु गरेको छ।
आयोगले दुर्घटनाको खोज तथा उद्दार टोलीद्वारा जहाजको ककपिट भिडियो रेकर्ड (ब्ल्याक बक्स) दुर्घटनास्थलबाट खोजी गरी आफ्नो जिम्मामा लिएको र मृतकहरुको शव परीक्षणको कार्य त्रिवि शिक्षण अस्पतालमा जारी रहेको जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जनाएका छन्।
सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन सोमबार पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो।
आयोगमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने सदस्य रहेका छन्। यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको जनाइएको छ।
पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरामा तारा एअरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुहरुको मृत्यु भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।