काठमाडौं- देशका विभिन्न भागमा भएको सावारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। चितवन, धनकुटा र सप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।
चितवनको ईच्छाकामाना गाउँपालिका ४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरुष रहेका छन्। बुधबार बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो। दुर्घटना गराई फरार रहेका सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै सप्तरीको कंचनरुप नगरपालिका १२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा संलग्न बससहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको जनाएको छ।
धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभा खाँदबारी १० का पुरन राई रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराति २ बजे अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।