काठमाडौं- युद्ध सुरु भएदेखि करिब १५ हजार संदिग्ध युद्ध अपराधहरूबारे रिपोर्ट गरिएको युक्रेनले जनाएको छ। जसमा दैनिक २०० देखि ३०० थप भइरहेको जनाइएको छ।
युक्रेनी प्रमुख अभियोजक इरिना भेनेडिक्टोभाले हेगमा आयोजित पत्रकारसम्मेलनमा करिब ६ सय जना संदिग्धको पहिचान भइसकेको र ८० जनामाथि मुद्दा चलाउन थालिएको बताइन्। संदिग्धहरूको सूचीमा "रुसका शीर्ष सैन्य, राजनीतिज्ञ र प्रचार एजेन्टहरू" समावेश रहेको बीबीसीले जनाएको छ।
तर, रुसले नागरिकलाई निशाना बनाएको वा युद्ध अपराधमा संलग्नता अस्वीकार गरेको छ। १५ हजार संदिग्ध युद्ध अपराध मध्ये पूर्वी डोनबास क्षेत्रमा धेरै हजार पहिचान गरिएको उनले बताइन्।
यस क्षेत्रमा बालबालिकाकाहरु सहित सर्वसाधारणलाई जबरजस्ती स्थानान्तरण, यातना, हत्या र नागरिक पूर्वाधारको विनाशका क्रममा युद्ध अपराध भएको आशंका गरिएको उनले बताइन्।
पूर्वी क्षेत्रमा अनुसन्धान सुरु भइसकेको भए पनि युक्रेनी अधिकारीहरू रुस नियन्त्रित क्षेत्रहरूमा पुग्न नसकेको एएफपीले जनाएको छ तर, उनीहरूले उद्धारकर्ताहरू र युद्धका बन्दीहरूसँग अन्तर्वार्ता लिने प्रयास गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।