काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्यानिटरी प्याड आयातमा दिएको ९० प्रतिशत भन्सार छुट फिर्ता नलिए आन्दोलन गर्ने नेपाल स्यानिटरी प्याड उत्पादक संघले चेतावनी दिएको छ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सरकारले आन्तरिक उद्योगलाई धराशायी बनाउने गरी बजेटमा उक्त बुँदा राखेको बताएको छ। सरकारको उक्त निर्णयले नेपालका प्याड उद्योग धराशायी हुने भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन माग गरिएको छ।
नेपालमा ठूला–साना गरी ४० भन्दा बढी प्याड उत्पादन उद्योग सञ्चालनमा छन्। बजेटमा आयातित स्यानिटरी प्याडमा दिइएको भन्सार छुटले स्थानीय उद्योग बन्द हुने अवस्थामा पुग्ने संघले जनाएको छ।
सरकारले कच्चा पदार्थमा १ प्रतिशत भन्सार महसुलको घोषणा गरेको छ। तर, केही कच्चा पदार्थ तथा प्याकेजिङ वस्तुहरूमा लाग्ने अन्तशुल्कबारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डोलराज अधिकारीले नयाँ बजेटले प्याड उद्योगीहरू अन्यायमा परेको गुनासो गरे। सरकारले उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।