काठमाडौं– सभामुख अग्नि सापकोटा र गृहमन्त्री बालकृष्ण खाण संसद् भवन प्रवेश गर्ने क्रममा विरोध प्रदर्शन गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नागरिकताविहीन नेपाली नागरिक संघर्ष समितिको ब्यानरमा मंगलबार संसद् भवन अगाडि प्लेकार्डसहित केही व्यक्तिहरुले प्रदर्शन गरेका थिए। सभामुख सापकोटा र गृहमन्त्री खाणले संसद् भवन प्रवेश गर्ने क्रममा उनीहरुले प्लेकार्ड प्रदर्शन गरेका थिए।
नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ मा भएको व्यवस्था छिटो कार्यान्वयन हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए।
संविधानको धारा ११ को (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने भन्ने व्यवस्था गरिएको छ।
यस्तै, उपधारा (५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने भनिएको छ।
पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ– ४ घर भइ काठमाडौंको गौशाला बस्ने २८ वर्षीय ईन्द्रजित साफी, महोत्तरीको रामगोपालपुर– १ घर भइ काठमाडौंको चौमती बस्ने २५ वर्षीय कलामुदिन खाँ, धनुषाको मिथिला–७ घर भइ काठमाडौंको गौशाला बस्ने २४ वर्षीय जितेन्द्रन कुमार, मोरङको विराटनगर–४ घर भइ काठमाडौंको गौशला बस्ने २४ वर्षीय दिपेन यादव छन्।
यस्तै, मोरङको कटहरी–४ घर भइ काठमाडौंको गौशला बस्ने २५ वर्षीय निरज कामद, धनुषाको नगराईन–३ घर भइ काठमाडौंको गौशला बस्ने २५ वर्षीय रोहित ठाकुर, बाराको देउताल–२ घर भइ काठमाडौंको कलंकी बस्ने २३ वर्षीय बुलेट यादव र काठमाडौंको चन्द्रागिरी–१५ तिनथाना घर भएका २५ वर्षीय सन्देश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।