काठमाडौं- एनआईसी एसिया बैंकले आफूहरु गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने प्रक्रियामा संलग्न नरहेको दाबी गरेको छ।
अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरेको विषयमा नेपाल लाइभले खोजमूलक समाचार प्रकाशन गरेको थियो। उक्त समाचारमा गभर्नर निलम्बन गर्न अर्थमन्त्री जनार्दन शर्माको स्वार्थ मात्र जिम्मेवार नभएको र एनआईसी एसिया बैंक र अन्य विचौलियाको चलखेल पनि रहेको खुलासा गरेको थियो। तर, एनआईसी एसिया बैंकले त्यसको खन्डन गर्दै आफ्नो संलग्न नरहेको दाबी गरेको हो।
२०७८ चैत २५ मा बसेको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भोलिपल्ट मात्र सार्वजनिक भयो।
निलम्बनको निर्णय कानुनविपरीत भएको दाबी गर्दै गभर्नर अधिकारी वैशाख ४ मा सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उनी नेपाल राष्ट्र बैंक फर्केका छन्।
मौद्रिक नीतिमार्फत कर्जा निक्षेप अनुपातको व्यवस्था गरेपछि चिढिएका कतिपय बैंक गभर्नरविरुद्ध थिए। कानुन विपरीत लाभांश वितरण गरेको भन्दै एनआईसी एसिया बैंकमाथि राष्ट्र बैंकले कारबाही चलाएका कारण उक्त बैंक पनि गभर्नर हटाउने चलखेलमा लागेको नेपाल लाइभको समाचारमा उल्लेख थियो।
तर, उक्त बैंकले हुँदै नभएको, झूटो र आधारहीन रुपमा समाचारमा आफ्नो नाम जोडिएको भन्दै बचाउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।