काठमाडौं– मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पठाएको पानीको ढोका बन्द गरेको छ। मनसुन सिजन नजिकिएसँगै पानी पठाउन बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मंगलबारदेखि पानी पठाउन बन्द गरिएको जानकारी दिए। उनले वर्षायामसँगै पानीको टनेल र सुरुङमा समस्या हुने आँकलनसहित हाललाई पानी पठाउने ढोकाहरु बन्द गरिएको बताए।
‘आजदेखि पानी पठाउन बन्द गर्न सुरु गरिसकेका छौं,’ उनले भने, ‘पर्सीदेखि मनसुन सिजन सक्रिय हुँदै जाने भएकाले त्यसअघि नै बन्द गरिएको हो ।’
वर्षायाममा सुरुङमा क्षति पुग्नेसक्ने भएकाले पहिले नै सर्तकता अपनाइएको उनको भनाइ छ। अब मनसुन सिजन सकिएपछि मात्रै आउँदो कात्तिकमा पुनः पानी काठमाडौं पठाइने उनले जानकारी दिए।
०७८ असार १ र त्यसपछि आएको हेलम्बुको भ्रेमाथाङ वाढीले ठूलो क्षति पुर्याएको थियो। उक्त बाढीले पु¥याएको क्षति मर्मत–सम्भारपछि केही महिनाअघि काठमाडौंमा पानी पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।