काठमाडौं– काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यदलको बैठक बस्दैछ। बैठक बिहान ९ बजे बस्ने तय भएको छ।
सोमबार बसेको महानगरको पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि मेयर बालेन्द्र शाहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।
यसमा उपमेयरसहित चार वडाध्यक्ष छन्। नेकपा एमालेका एक जना, नेपाली कांग्रेसका दुई जना र एकीकृत समाजवादीका एक जना वडाध्यक्ष सदस्यका रूपमा रहेको समितिमा महानगरका प्रशासकीय अधिकृत सदस्य–सचिव छन्।
बैठकले काठमाडौंको फोहोर व्यवस्थापनको अल्पकालीन र दीर्घकालीन ढाँचाबारे छलफल र निर्णय गर्नेछ। मेयर शाह निर्वाचित भएकै दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल सिसडोल र बञ्चरेडाँडा पुगेका थिए।
सोमबारको कार्यपालिका बैठकमा पनि फोहोरमैला व्यवस्थापनको कुरा उठाउँदै यो समाधान नभएसम्म आफूले खादा, माला नलगाउने बताए। पछिल्ला केहीदिन यता काठमाडौंको फोहोर उठ्न सकेको छैन। सडकमा थुप्रिएको फोहोरले सहरलाई दुर्गन्धित बनाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।