काठमाडौं- दैलेखको आठविस नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मुक्तिप्रसाद उपाध्यायलाई निर्वाचित भएको एक साता नबित्दै भ्रष्टाचार मुद्दा लागेको छ। सोही वडामा रहेको गणेश आधारभूत विद्यालय, विशालामा आईसीटी व्यवस्थापनका लागि सामान खरिद गर्ने क्रममा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
विद्यालयले रकम हिनामिना गर्ने उद्देश्यले नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरी भुक्तानीका लागि आठविस नगरपालिका, दैलेखमा रकम माग गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनी दोषी ठहरिएको अख्तियारको दाबी छ।
अख्तियारले विशेष अदालतमा दायर गरेको उजुरीमा भनिएको छ, 'दैलेख, आठविस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय, विशालाका व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, साेही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य-सचिव अनीलकुमार शाहीले उक्त वडाको उज्यालो सोलार वितरण कार्यक्रमको रकम भुक्तानीको बहाना गरी आईसीटी व्यवस्थापन गर्न सोलार खरिद गर्न कोटेशन आव्हान गर्ने, कोटेशन छनाेट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरिसकेको भनी व्यवस्थापन समितिको निर्णय गरी सोही आधारमा झुट्टा बिल कागजात तयार भुक्तानीका लागि आठविस नगरपालिकामा दाबी गरिएको देखिएको छ।'
उनीहरुले ४ लाख ९८ हजार रकम भुक्तानी लिने उद्देश्यले गैरकानूनी लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ वमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।