काठमाडौं– तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव पोखरा ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् १० जनाको शव पोखरा विमानस्थलमा झारिएको हो।
यसअघि सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए। कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको हो। पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ।
१९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विमानमा २२ जना सवार रहेकामा सोमबार साँझसम्म २१ जनाको शव भेटिएको छ।
आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नाइनएनएईटी ट्विनअटर जहाज उडान भरेको केही मिनेटपछि सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २, सानुसरेको पहाडमा दुर्घटना भएको जहाज भेटिएको थियो।
पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको उक्त विमान १०:७ बजेपछि सम्पर्कविहीन भएको थियो। पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहानै खोजी सुरु गर्दा दुर्घटनाग्रस्त जहाज भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।