काठमाडौं– उच्च सरकारी वकिलको कार्यालय पोखराका तत्कालीन प्रमुख (सहन्यायाधीवक्ता) सुरेन्द्र बहादुर थापाले भ्रष्टाचार मुद्दामा साफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीशहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुशी प्रसाद थारुको इजलासले ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो मागदाबी गरिएको मुद्दामा थापालाई सफाइ दिएको हो।
थापामाथि अनुसन्धान गर्दा उनले विभिन्न कार्यालयमा कार्यरत रहँदा अकूत सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले दाबी गरेको थियो। अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरुद्ध २०७८ माघ २६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०४५ असार ५ मा सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि २०७५/०७६ सम्मको जाँच अवधिमा वैध आय १ करोड ७६ लाख ७६ हजार १२० रुपैयाँ ९५ पैसाको अनुपातमा सोही अवधिमा २ करोड ३७ लाख ७८ हजार १९७ रुपैयाँ ९२ पैसा आम्दानी गरेको दावी अख्तियारले गरेको थियो।
आयभन्दा बढी देखिएको ६१ लाख २ हजार ७६ रुपैयाँ ९७ पैसा रकमको स्रोत खुल्न नसकेको दावी अख्तियारले गरेको थियो। तर, विशेष अदालतले भने अख्तियारको दावी पुग्न नसक्ने देखिएको भन्दै सफाइ दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।