काठमाडौं- सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, रसुवागढी–काठमाडौँ रेलमार्ग, वीरगञ्ज–काठमाडौँलगायतका रेलमार्गको अध्ययन अघि बढाउने भएको छ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। उक्त नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्वतयारी गरिने उल्लेख गरिएको छ।
रसुवागढी–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन अघि बढाइने तथा वीरगञ्ज–काठमाडौँ रेलमार्गको अध्ययन अघि बढाइने सरकारको योजना रहेको छ। नीति तथा कार्यक्रमका अनुसार काठमाडौँ उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिने छ।
नेपालका नदी प्रणालीमा आन्तरिक जल यातायात सम्भाव्यता पहिचान तथा विकास गरिने र सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन वातावरणमैत्री बृहत् बस परिवहन प्रणालीलाई प्रोत्साहन गरिने तथा केबुलकार र रोपवोको निर्माण र सञ्चालन थप प्रोत्साहित गरिने नीतिमा उल्लेख छ।
सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाट सरलरुपमा शीघ्र वितरणको व्यवस्था मिलाउने सरकारको योजना छ। विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।