काठमाडाैं-मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा चित्त बुझाएको छ। आइतबार राति घरेलु मैदान एनफिल्डमा सम्पन्न अन्तिम खेलमा वल्भ्समाथि १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै ३-१ को जित दर्ता गरे पनि लिभरपुल उपाधि जित्न असफल भएको हो।
दोस्रो स्थानको लिभरपुल खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो। पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए। तर, २४औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए।
८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ ले अघि बढाए। ८९औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित ३-१ ले सुनिश्चित गरे।
तर, आइतबार नै घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न निकै रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले उपाधि जित्यो।
सिटीले एस्टन भिल्लालाई ३-२ ले पराजित गरेको हो। समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रह्यो। यता, लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।