काठमाडौं–जर्मन क्लब वायर्न म्युनिखका कार्यकारी प्रमुख ओलिभर कानले स्ट्राइकर रोवर्ट लेवान्डोवस्कीलाई नबेच्ने स्पष्ट पारेका छन्।
यसअघि वायर्नले सम्झौता समाप्त हुनुपूर्व नै पोल्यान्डका ३१ वर्षीय स्ट्राइकर लेवान्डोवस्कीलाई बेच्न चाहेको खबर सावर्जनिक भएको थियो। यद्यपि, कानले भने यो खबरमा सत्य नभएको बताएका छन्।
कानले लेवान्डोवस्कीलाई क्लबले नयाँ सम्झौताको प्रस्ताव गरेको जानकारी दिएका छन्। उनले लेवान्डोवस्कीलाई क्लब छोड्ने अनुमति प्रदान नगरिने बताएका छन्।
‘हामी आफ्नो उत्कृष्ट खेलाडीलाई सम्भव भएसम्म क्लबमै राख्न चाहन्छौं। हामीले लेवान्डोवस्कीको एजेन्टसामू सम्झौता पेश गरेका छौं,’ उनले भने।
वायर्न र लेवान्डोवस्कीबीचको सम्झौता सकिन अब एक वर्षमात्र बाँकी छ। लेवान्डोवस्कीले बुन्डोसलिगामा पछिल्लो ३ सिजनयता ११० गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।