काठमाडौं- किशोरी बलात्कार गरेको आरोपमा एक सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुवरले पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए। उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो।
आठ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको दाबी गर्दै एक किशोरीले भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन्।
सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा एक किशोरीले २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले कार्यक्रममा आयोजकमध्येका १ जनाले आफूलाई जबरजस्ती करणी समेत गरेको आरोप लगाएकी थिइन्।
कार्यक्रम सकिएपछि एभरेष्ट होटलमा पार्टी आयोजना गर्ने भन्दै बोलाएर आफूमाथि हिंसा भएको उनको दाबी छ। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको भनिएको हिंसाको घटनाबारे चर्चा भइरहेको छ।
बलात्कारको घटनामा उजुरी गर्ने समय (हदम्याद) १ वर्ष मात्रै भएको र ८ वर्ष पूरानो घटना भएकाले कानुनी उपचारका लागि बाधक भएको भन्दै युवाहरुले हदम्याद हटाउन माग गर्दै प्रर्दशन गरिहेका छन्। उनीहरुले शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।