काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ। बजेटमा १३ खर्ब ५९ अर्ब राजस्व संकलनबाट र वैदेशिक ऋणबाट ३ खर्ब ३६ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ।
सरकारले आगामी आर्थिक वर्षमा ५१ अर्ब रुपियाँ अनुदान लिने लक्ष्य राखेको छ। कुल राजस्व संकलन र अनुदानमार्फत् १४ खर्ब ९ अर्ब रुपैयाँ र बाँकी तीन खर्ब ३६ अर्ब रुपैयाँ वैदेशिक ऋणबाट जुटाउने लक्ष्य सरकारले गरेको छ।
आगामी आर्थिक वर्षमा सरकारले १० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपालमा भित्रेयाउने योजना राखेको अर्थमन्त्रालयका एक अधिकारी बताउँछन्। यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा ७ खर्ब राजस्व भंसारबाट उठाउने लक्ष्य राखेको ती अधिकारी बताँउछन्।
सरकारले अहिले योजना आयोगले पठाएको तीन वर्षको अनुमान तथा प्रक्षेपणका आधारमा बजेट निर्माणको काम गरिरहेको छ। सरकारले आन्तरिक ऋण दुई खर्ब ५७ अर्ब उठाउने उद्देश्य राखेको छ। यसैका आधारमा बजेट निर्माण भइरहेको अर्थमन्त्रालयका एक अधिकारीले बताए।
सरकारले ल्याउन लागेको बजेटको यस्तो ऋण चालु आर्थिक वर्ष २०७८–०७९का लागि ल्याएको बजेटको लगभग सात प्रतिशत बढी हो। चालु आवमा सरकारले १६ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो।
अघिल्लो आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट
सरकारले गत आर्थिक वर्षको भन्दा करिब एक खर्ब १३ अर्ब रुपैयाँ बढी बजेट ल्याउने तयारी गरेको हो।
चालु आवमा १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।
अर्थविज्ञहरुले आर्थिक संकट लगायतका समस्याबाट देशलाई जोगाउन सानो आकारको प्रभावकारी बजेट ल्याउनु पर्ने सुझाव दिइरहँदा पनि सरकारले गत आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउन लागेको हो।
यसरी, सरकारले ऋण लिएर ठूलो आकारको बजेट ल्याउने र समयमा बजेट खर्च गर्न नसक्ने अवस्थाले देशलाई अझ आर्थिक संकटतर्फ लैजाने एक पूर्व अर्थसचिव बताउँछन्।
उनी भन्छन्, ‘सरकारले हरेक वर्ष आफू र आफ्नो पार्टीलाई पपुलिस्ट बनाउने खालको ठूलो आकारको बजेट निमार्ण गर्छ। यसले देशको आर्थिक अवस्थालाई प्रभावकारिता तर्फभन्दा खतरातर्फ लैजाने निश्चित छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।