काठमाडौं- मधेस प्रदेशका ८ जिल्लाको मतगणना जारी छ। शुक्रबार बेलुकासम्म ९७ पालिकाको मतगणना सार्वजनिक भइसकेको छ। १३६ पालिकामध्ये अब ३९ पालिकाको मतगणना सम्पन्न हुन बाँकी छ।
समाचार तयार पार्दासम्मको आँकडाअनुसार कांग्रेसले ३६ पालिकाको नेतृत्व जितिसकेको छ, ७ वटा पालिकामा अग्रता लिएको छ। नेकपा एमालेले २० वटा पालिकाको नेतृत्व जितिसकेको छ, ७ वटा पालिकामा अग्रता लिइरहेको छ। जनता समाजावदी फोरमले १६ पालिकामा जितिसकेको छ, ११ पालिकामा अग्रता लिइरहेको छ। लोसपाले ९ वटा पालिकाको नेतृत्व जितेको छ, ३ वटा पालिकामा अग्रता लिएको छ। त्यस्तै माओवादी केन्द्रले ७ वटामा जित निकालेको छ, ६ वटामा अग्रता लिएको छ। अन्य केही दलले एक दुई पालिकामा जित निकालेका छन्।
उल्लेखित दलहरुको २०७४ सालको नतिजा हेरौँ। त्यतिबेला कांग्रेसले ४० पालिकामा जितेको थियो। अहिले कांग्रेसमै मिसिएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमले ३ पालिका जितेको थियो। अहिले जनता समाजवादी पार्टी बनेको तत्कालीन संघीय समाजवादी फोरमले २६ पालिका जितेको थियो। सोही दलमा मिसिएको नयाँ शक्तिले एक पालिका जितेको थियो। त्यस्तै, अहिले लोसपाले प्रतिनिधित्व गर्ने तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ पालिका जितेको थियो। माओवादीले २१ र एमालेले १८ पालिका जितेका थिए।
जितिसकेका पालिका र अग्रतालाई केलाउँदा कांग्रेस र जसपाले २०७४ कै हाराहारीमा पालिकाको नेतृत्व गर्ने सम्भावना छ। तर अन्य तीन दल एमाले, माओवादी केन्द्र र लोसपाको शक्ति संरचनामा भने व्यापक फेरबदल आएको देख्न सकिन्छ। माओवादी केन्द्र र लोसपाको शक्ति धेरै नै खिइएको देखिन्छ। त्यसको लाभ एमालेले उठाएको छ। मुख्यतः पहाडी/हिमाली जिल्लामा राम्रो प्रभाव रहेको भए पनि एमाले मधेस क्षेत्रमा भने कमजोर देखिँदै आएको थियो। तर यो निर्वाचनमा कतिपय पहाडी/हिमाली जिल्लामा ऊ शून्य भयो, कमजोर भनिएको मधेसमै बलियो देखिएको छ।
यसबीचमा एमाले विभाजन भइसकेको छ। माधव नेपाल नेतृत्वमा गत भदौमा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन गरिएको थियो। मधेस प्रदेश नेपालको गृह प्रदेश पनि हो। बरु स्वयं नेपालको उल्लेखनीय प्रभाव देखिएन। सो पार्टीले अहिलेसम्म जम्मा ४ वटामा जित निकालेको छ भने २ वटामा अग्रता लिएको छ। यसरी पार्टी विभाजन भएको अवस्थामा समेत एमालेको उदय रोचक छ।
एमालेका नेताहरुले भन्ने गरेका थिए, माधव नेपालको बहिर्गमनबाट गुमेको शक्तिलाई आफूहरुले माओवादी लगायतका पार्टीबाट भित्र्याएर पूर्ति गरेका छौँ। त्यसको पुष्टि मधेस प्रदेशमै भएको छ। यो प्रदेशमा राम्रै प्रभाव राख्ने नेता प्रभु साह २०७७ मै माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका थिए। त्यसले पनि एमालेलाई लाभ पुगेको छ।
मुख्यचाहिँ एमालेले मधेसी मतदातामा आफ्नो छवि सुधार गरेको देखिन्छ। यो यही प्रदेश हो, जहाँ कुनै बेलामा एमालेको निकै विरोध हुने गरेको थियो। खासगरी संविधान सभाबाट संविधान जारी गर्ने सुरसार भएपछि एमाले नेताहरु (विशेषगरी अध्यक्ष केपी शर्मा ओली) को आलोचनामा मधेसले धेरै शब्द खर्चिएको थियो। त्यहाँ आफ्नो प्रभाव बढाउन ओलीले निकै प्रयत्न गरिरहेका थिए। विभिन्न पार्टीका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर नै चलाएका थिए। निर्वाचनमा त्यसको प्रतिफल प्राप्त भएको छ।
अब चर्चा गरौँ, जसपा र लोसपाको। यी दुवै दल २०७४ को निर्वाचनमा छुट्टाछुट्टै थिए। त्यतबेला उनीहरुको विद्रोही छवि पनि कायमै थियो। किनकि, संविधान जारी हुनुभन्दा अगाडिदेखिको असन्तुष्टि उनीहरुले फरकफरक तरिकाबाट व्यक्त गरिरहेका थिए। त्यसको लाभ निर्वाचनमा पुगेको ठान्न सकिन्छ। तर, यसबीचमा उनीहरुबीच एकता पनि भयो, विभाजन पनि भयो। महन्थ ठाकुर नेतृत्वको एक पक्षले त ओलीको 'प्रतिगमन'मा खुला साथ नै दियो। आलोचना सहेर उनकै मन्त्रपरिषद्मा पनि समेत सामेल भयो। यसको सजाय सायद यो निर्वाचनमा मिलेको छ।
जसपाले आफ्नो शक्ति यथावत् राख्ने देखिन्छ। तर उसले पनि लोसपाले गुमाएको शक्तिलाई आफूतिर तान्न नसकेको देखिन्छ। मुख्यतः यी दुवै दलको 'विकल्पमा गठन' भएको जनमत पार्टीले दुई पालिकाको नेतृत्व जितेको छ। त्यसमध्ये एउटा तत्कालीन संघीय समाजवादी फोरम र एउटा तत्कालीन राजपाले जितेको पालिका हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।