काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वप्रवक्ता किरण राईले अध्यक्ष कर्माछिरिङ शेर्पालाई आगामी निर्वाचनमा उम्मेदवारी नदिन सुझाएका छन्।
शुक्रबार ललितपुरको हिमालय होटलमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा राईले शेर्पाबाट क्रमिक रूपमा गल्ती दोहोरिएकाले उनी पूर्णरूपमा असफल भएको दाबी गरे।
‘प्रशिक्षक र खेलाडीको घटनापछि नैतिकताको आधारमा उहाँले राजीनामा गर्नुहोला भन्ने आशा गरेको थिएँ। आफू पूर्ण रूपमा असफल भइसकेपछि पनि उहाँले उम्मेदवारी दिन लाग्नुभएछ,’ उनले भने, ‘उहाँले क्रमिक रूपमा गल्ती दोहोर्याइरहनु भयो। हामीले धेरै सहयोग गरेका हौं, तर सुध्रिने अवस्था नै आएन। उहाँ पूर्ण रूपमा असफल हुनुभयो। तपाई चुनाव लड्ने आइडिया ड्रप गर्नुस्।’
शेर्पा नेतृत्वको पछिल्लो चार वर्ष नेपाली फुटबलको कालो अवधि भएको बताउँदै उनले आगामी दिनमा सिस्टममा नेपाली फुटबल चलाउनुपर्ने बताए।
‘स्टाफमाथि तपाईंको कन्ट्रोल छैन। कुनै कुरा गरे सचिवालयतिर पन्छाउनु हुन्छ। प्रधानमन्त्री र मुख्यमन्त्रीजस्तो सेल्फी खिचेर बस्नुभयो। त्यो तपाईको खास काम होइन। आगामी दिनमा सिस्टममा नेपाली फुटबल चलाउनुपर्छ। तपाई असफल भइसक्नु भयो,’ राईले भने।
आसन्न निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङ समूहले उम्मेदवारी घोषणा गरेको छ। एन्फाको केन्द्रीय निर्वाचन असार ६ गते हुँदैछ।
अध्यक्ष पदमा नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै, यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले पनि नेम्वाङको समूहमा खुलेका छन्।
सहिद स्मारक ‘ए’ डिभिजनको टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबको बिहीबार बसेको बैठकले घलेलाई अध्यक्षमा नियुक्त गरेको थियो।
क्लबका महासचिव तेन्जिङ गुरुङले अध्यक्ष मुखिया गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै घलेलाई अध्यक्षमा चयन गरिएको बताए। घले वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहे पनि क्लबका सबै पक्षलाई समेट्न भन्दै उनले आफ्नो पद छाडेका थिए।
यस्तै, बैठकले क्लबका नयाँ अध्यक्ष घलेलाई एन्फाको आसन्न निर्वाचनमा उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। अब मनाङबाट अध्यक्ष घले आधिकारिक उम्मेदवार भएका छन्।
वर्तमान एन्फा कार्यसमिति सदस्य रहेका घलेले अन्तिम पटकका लागि एन्फा कार्यसमितिमा उम्मेदवारी दिने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।