काठमाडौं– आठ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको दाबी गर्दै एक किशोरीले भिडियो सार्वजनिक गरेपछि नेपाल प्रहरीको उक्त घटनाको यर्थाथ बुझ्न अनुसन्धान सुरु गरेको छ।
सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा एक किशोरीले २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले कार्यक्रममा आयोजकमध्येका १ जनाले आफूलाई जबरजस्ती करणी समेत गरेको आरोप लगाएकी थिइन्।
कार्यक्रम सकिएपछि एभरेष्ट होटलमा भएको पार्टीमा आफूमाथि हिंसा भएको उनको दाबी थियो। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको हिंसाको घटनाबारे चर्चा सुरु भएको छ।
विषयमा नेपाल प्रहरीले समेत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी विष्णुकुमार केसीले घटनाको यर्थाथ बुझ्ने प्रयास भइरहेको बताए। ‘अहिलेसम्म हामीले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट मात्रै घटनाका बारेमा जानकारी पाएका छौं। पीडितको सम्पर्कमा पुगेर यर्थाथ बुझ्ने प्रयास गर्दैछौं,’ एसएसपी केसीले नेपाल लाइभसँग भने।
उता उपत्यकाका तीन जिल्लामा हुने अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि घटनाको बारेमा बझ्ने प्रयास भइरहेको बताएको छ। महशाखाका एसएसपी वसन्त कुँवरले पीडितको सम्पर्कमा पुगेर यथार्थ बुझ्ने प्रयास भइरहेको जनाए।
बलात्कारको घटनामा उजुरी गर्ने समय (हदम्याद) १ वर्ष मात्रै भएको र ८ वर्ष पूरानो घटना भएकाले कानुनी उपचारका लागि बाधक भएको भन्दै सर्वसाधारण हदम्याद हटानउनु पर्ने भन्दै प्रर्दशन समेत गरिहेका छन्। उनीहरुले शुक्रबार बालुवाटारमा प्रर्दशन समेत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।