काठमाडौं– कुवेतको जजिरा एयरवेजले जेठ २९ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। विमानस्थलबाट एयरवेजले पहिलो नियमित व्यावसायिक उडान गर्न लागेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको जजिराले जेठ २ गते बुद्ध पूर्णिमाका दिन उद्घाटन उडानको तयारी गरेको छ।
जजिराले जेठ २९ गतेदेखि सातामा तीन दिन उडान भर्ने गरी अनुमति लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।
जजिरा एयरवेजले अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको छ। जजिराले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहाबाट कुवेत जानेछ। कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्नेछन्। कुवेतमा ट्रान्जिट भई भैरहवा आउन पाउने सुविधा अब मिल्नेछ।
जेठ २ गते स्थानीय समय अनुसार ६ बजेर २० मिनेटमा दोहाबाट उड्ने जहाज स्थानीय समय अनुसार ७ः४५ बजे कुवेत अवतरण गर्नेछ। यो जहाज कुवेतमा चार घण्टा ट्रान्जिट गरी स्थानीय समय अनुसार राति ११ः४५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्ने छ। यो जहाज नेपालको स्थानीय समयअनुसार बिहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ।
यो विमानस्थल सञ्चालनसँगै वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि अरबमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज हुने भएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने अपेक्षा विमानस्थलले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।