काठमाडौं- स्थानीय तह निर्वाचन आउन दुईदिन बाँकी छ। निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा कार्यक्रम मतदान केन्द्रमै सञ्चालन गरिरहेको छ। मतदातालाई मतदान गर्न सिकाउने उद्देश्यले कार्यक्रम गरिएको हो।
आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बताएअनुसार बदर मतको संख्या घटाउन आयोगले यसपटक मतदान केन्द्रमा नै कार्यक्रम गरिरहेको हो।
विगतका निर्वाचनमा घर–घरमै स्वयंसेवक पठाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन्थ्यो। तर, यसपटक स्वयंसेवक खटाइएको छैन। प्रविधिको बढ्दो प्रयोगसँगै यसपटक मतदाता शिक्षाका लागि आयोगले सामाजिक सञ्जाललाई बढी प्रयोग गरेको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमका लागि ८० करोड रुपैयाँको हाराहारीमा खर्च गरेको आयोगले यसपटक भने रकम कटौती गरेको छ।
आयोगका अनुसार अहिले २४ करोड मात्रै खर्च गरिनेछ। ‘मतदाता शिक्षा कार्यक्रमका नाममा जति रकम खर्च गरे पनि बदरको संख्या घटेको देखिएन,’ आयोगका एक अधिकारी भन्छन्, ‘नतिजा नआउने क्षेत्रमा खर्च गरेर व्ययभार बढाउनु भन्दा वैकल्पिक माध्यम यसपटक प्रयोग गरिएको हुनुपर्छ।’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बदर मतको संख्या कम गर्नेतर्फ आयोगको ध्यान रहेको बताउँछन्। ‘मत बदर हुन नदिनका लागि नै हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसकै लागि दुईदिन मतदान केन्द्रमा नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछौं।’
यसपटक आयोगले कलाकार, आयोगका पूर्व पदाधिकारीदेखि विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुको सहयोग लिएर मतदानका बारेमा मतदातालाई जानकारी दिने काम गरिरहेको छ। बुधबार र बिहीबार नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीहरुको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराइने छ।
‘७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी निर्देशन दिइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।
मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि सबै मतदाताहरुलाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने भनेको छ।
आयोगले यसअघिका निर्वाचनमा मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेन। जसकारण बदर मतको संख्यामा कमी आउन सकेको थिएन। अहिले स्वयंसेवक पनि खटाइएका छैनन् र अन्य शिक्षाका कार्यक्रम पनि कमै सञ्चालन भएको अवस्थामा बदरमतको संख्या बढ्न सक्ने अनुमान धेरैले गरेका छन्।
मत बदर हुनुको अर्को कारण भनेको मतपत्रको आकार ठूलो हुनु र चुनाव चिह्न पनि धेरै हुनु हो। यसो हुँदा मतदाता अलमलमा पर्ने पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल बताउँछन्। अधिकाशं ठाउँमा राजनीतिक दलहरुले गठबन्धन गरेका कारण मतदातालाई चुनाव चिह्न हेरेर मत हाल्न नै समय लाग्ने देखिन्छ र अलमलिने अवस्था पनि देखिएको छ।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल गठबन्धन भएका कारण पनि धेरै बदर हुने सम्भावना देखिएको बताउँछन्। ‘कसको कहाँ के भन्ने जानकारी नै नहुने, रनभुल्लको अवस्था अहिले देखिएको छ। त्यस्तै मतदातालाई त्यसको पर्याप्त सूचना पनि छैन। मानिसलाई यसको प्रयोगको पनि ज्ञान भएन,’ उनले भने।
निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदनमा पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा धेरै मत बदर हुने उल्लेख छ। आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले तयार पारेको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो।
स्थानीय चुनावमा मतदाताले एकै मतपत्रमा सात ठाउँमा चिनो लगाउनु पर्ने र कतिपय मतदातामा कसरी चिह्न लगाउनुपर्छ भन्ने जानकारी नहुँदा मतपत्र बदर हुन सक्ने उच्च सम्भावना देखिएको प्रतिवेदनमा उल्लख छ। यद्यपि, शहर–बजारका केही क्षेत्रमा नमूना मतपत्रमा ‘मक इलक्सेन’ गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
‘गाउँ–ठाउँमा त्यसरी नै मतदान केन्द्रबाटै मतदातालाई नमूना मतपत्र देखाउँदै प्रशिक्षित गर्ने भनाइ मतदान अधिकृतहरुको रहेको छ’ प्रतिवेदनमा भनिएको छ ‘निर्वाचन आयोगले मतदान प्रक्रियाबारे मिडियामार्फत प्रचार सामग्री राखेको देखिन्छ। मोबाइल रिङ्गटोन मार्फत् मतदानका निम्ति उत्साहित गरे पनि मतपत्र बदर हुन नदिन मतदातालाई शिक्षा पर्याप्त नदिँदा यसपालि मतपत्र बदर संख्या बढ्ने सम्भावना देखिन्छ।’
राजनीतिक दलहरुले पनि मतपत्र बदर नहुने गरी मतदान सिकाउनुपर्ने दायित्व भए पनि उनीहरुले आफ्नो प्रचार–प्रसार गरे पनि मतपत्र बदर हुन नदिने तिर त्यति चासो पुगेको नदेखिँएको प्रतिवेदनमा उल्लेख छ। ‘दुई वा दुई भन्दा बढी दलहरु बीच तालमेल गरी उम्मेदवारी दिइएको मतदातामा तालमेलबारे जानकारी नहुँदा उम्मेदवार नभएको ठाउँमा मतदान हुन सक्ने र त्यसले बदर मतको संख्या बढाउन सक्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ।
प्रमुख निर्वाचन अधिकृत थपलिया पनि बदर मत घटाउनका लागि राजनीतिक दलहरुले पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन्।निर्वाचन आयोगका अनुसार विभिन्न कारणले मत बदर हुने गरेका छन्।
सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औठाछाप लगाई वा आयोगद्वारा निर्धारित चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको, मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको, उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको, कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरिएको, निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा छुट्टै मत संकेत गरिएको, मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको, आयोगद्धारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्धारा मतदान गरिएको, मतपेटिका भन्दा बाहिर राखिएको र जाली मतपत्र भएको खण्डमा मत बदर हुने गर्दछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाचन पर्यवेक्षकको काम गर्दै आइरहेका पर्यवेक्षक अभयराज जोशी दलका थरीथरीका गठबन्धनका कारणले अहिलेको निर्वाचनमा बदर मत धेरै हुने बताउँछन्। ‘मतदाता शिक्षा जसरी दिनुपर्ने थियो त्यस हिसाबले काम पनि हुन सकेन्। अर्को कुरा राजनीतिक दलहरुले पनि मतदाता शिक्षाका बारेमा काम गर्न सकेको देखिएको छैन,’ उनले भने, ‘ठूलो मतपत्रदेखि विभिन्न कारणले मतदाता अलमल पर्ने स्थिति अहिले देखिएको छ।’ उनी ढिलो चाडो बदर मतको संख्या घटाउन विद्युतीय भोटिङ मेशिनको प्रयोग तर्फ जानुपर्ने बताउँछन्।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल पनि मतपत्र बदर घटाउने प्रमुख जिम्मेवारी राजनीतिक दलहरुकै भएको बताउँछन्। ‘जनताले मत उनीहरुलाई नै दिने हो । मत बदर हुँदा घाटा उनीहरुलाई नै पर्ने भएकाले सबैभन्दा धेरै जिम्मेवार उनीहरु नै हुनुपर्छ,’ उनले भने, ‘बदर मत घटाउन किन भूमिका खेलिरहेका छैनन्?’
बढी मत बदर हुँदा निर्वाचनको नतिजामा नै फेरबदल हुने संभावना रहने पोखरेल बताउँछन्। त्यसैले बदर मत थोरै भए पनि त्यसलाई कम आँक्न नहुने उनको तर्क छ। नतिजा फेरबदल हुँदा जनताको मतले सम्मान नपाउने पनि उनले बताए।
निर्वाचन आयोगको तथ्यांक अनुसार यसअघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा देशैभर कूल खसेको मतको ३ दशमलव १८ प्रतिशत मत बदर भएका थिए। यसवर्ष झण्डै ३० लाख मतदाता देशैभर थपिएका छन्। २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका देशभर मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन्।
ती मध्ये पुरुषको संख्या ८९ लाख ९२ हजार १० मतदाता रहेका छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५३० मतदाता रहेका छन्। १८३ अन्य रहेका छन्। निर्वाचन आयोगका अनुसार देशभर १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।