काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्नका लागि पनि आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेको बताएका छन्।
आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिए।
उनले भने, ’सर्वप्रथम म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु। पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो।’
उनले अगाडि भने, ’हामीले यो आन्दोलनलाई स्थगित गरेको होइन, केवल आन्दोलनको मोडालिटी केही समयका लागि परिवर्तन गरेका हौँ। सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीज्यूले विशेष अनुरोध गर्दै दुर्गाजी, एक पटक बसौँ, तपाईँले उठाएका मागहरू जनजीविका र सर्वहारा वर्गसँग सम्बन्धित छन् भनेपछि मैले उहाँहरूको वचन राखेको हुँ।’ प्रसाईँ समूहसँग सरकारले हिजो वार्ता गरेको थियो। वार्तापछि प्रसाईँको मागबारे छलफल गर्दै जाने सहमति भएसँगै उनको अभियानले आजदेखि तय भएको बन्दसहितको कार्यक्रम रोकेको थियो।
उनका अनुसार सरकार उनका २७ बुँदे मागबारे छलफल गर्न विज्ञसहितको टोली बनाउन तयार भएको छ।
उनले आफू हिंसाको पक्षमा नरहेको र देशमा थप अशान्ति नहोस् भन्ने चाहेको समेत बताए। आन्दोलनको घोषणा गरेपछि उनी पाँच दिनअघि निवासबाटै पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।