काठमाडौं– अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन्। अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको उनले बताए।
आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावीसमेत गरे।
कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए। मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरे पनि केही समयअगाडि ३८ प्रतिशतसम्म पुगेको उनले बताए। निर्यातभन्दा पनि आयात एक्कासी रुपमा ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ।
आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको दाबी गरे।सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने उनले बताए।
त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन(जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे। यस्तो अवस्था आउन नदिनका लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकिता राख्नुपर्ने उनले बताए।
सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको डा.अधिकारीले बताए। सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ।
सरकारले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटोन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए। अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनु आवश्यक रहेको उनले बताए।
त्यस्तै, अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न लायक नभएको बताए। उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनु पर्ने बताए। रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरुको भ्यालु इडिसन हुनुपर्नेमा जोड दिए।
त्यस्तै, बैंक तथा वित्तीय सल्लाकार डा. शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताए। उनले कोरोना महामारीको बीचमा अत्याधिक रेमिट्यान्स नेपाल भित्रिएकाले बजारमा तरलता सहजताका कारण उत्पादन भन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताए। पोखरेलले तरलता सहज भएर अत्याधिक कर्जा आयातमा गएकाले अहिले बजारमा तरलता अभाव देखिएको दाबी गरे।
बैंक तथा वितीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजस्व प्रचुर मात्रामा प्राप्त भए पनि आन्तरिक उत्पादन बढ्ने क्षेत्रमा लगानी नभएको बताए। जबसम्म स्वदेशमा नै आन्तरिक उत्पादन बढाउने र स्वदेशमा नै श्रमिकलाई रोजगारी दिने नीति आउँदैन तबसम्म आन्तरिक उत्पादन बढ्न नसक्ने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।