काठमाडौं– अमेरिकाको येल विश्वविद्यालय आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको बौद्ध देवी तारा/पार्वतीको प्रस्तर मूर्ति नेपाल फर्काइने भएको छ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकटबीच येल बौद्ध देवी तारा/पार्वतीको प्रस्तर मूर्ति २०७९ वैशाख २३ गते नेपाललाई फिर्ता गर्ने सहमति एवम् घोषणा गरिएको हो।
नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
आर्गिलाइट-ढुङ्गाबाट नवौं-दशौं शताब्दिमा बनेको उक्त तारा/पार्वती (70.5X38.1X13.07 सेन्टिमिटर) को मूर्ति येल युनिभर्सिटी ग्यालरीले सन् २०१५ मा एक दाताबाट प्राप्त गरेको थियो।
नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रहबाट सन् २०२१ मा छुट्टाछुट्टै गरिएका अनुसन्धानबाट यो मूर्ति समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसावले आरम्भिक मध्यकालको रहेको मानिएको छ।
सो मूर्ति २०३२ सालसम्म भक्तपुरको गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको र त्यहाँबाट हराउनु(चोरिनु) अघि बौद्धदेवी/पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको छ।
उक्त मूर्ति फिर्ता घोषणाको अवसरमा बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालेरी, उक्त ग्यालरीकी निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई सो कलाकृति फिर्ता गर्ने कार्यमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
उक्त मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी निर्देशक स्टेफनी वाइल्सले मूर्तिका विषयमा अध्ययन र नेपाल सरकारलाई फिर्ता गर्ने प्रक्रियामा भएको उपलव्धिमूलक छलफल र साझेदारीलाई उजागर गर्न पाउँदा खुसी व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।