काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको नेप्से १३७.५२ अंकले घटेको छ। बिहीबार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंक घटेको छ।
बिहीबार कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता सेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। बैंकिङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको सेयर मूल्य बढेको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबार रकमका आधारमा ८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।