काठमाडौं– नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजी) नियुक्त विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा दोस्रो दिन पनि सुनुवाइ जारी छ। बुधबारदेखि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस चलिरहेको छ।
बढुवाविरुद्ध रिट दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलका कानुन व्यवसायीले बुधबार सुरुवाती बहस गरे। बुधबार पहिलो सुनुवाइकै दिन रिटमा विपक्षी बनाइएको सरकारी पक्षले पनि 'हस्तक्षेप' बहस गर्यो।
सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित सरकारी वकिल प्रहरी महानिरीक्षकमा बढुवा भएका धीरजप्रताप सिंहका निजी कानुन व्यवसायीले पनि बहस गरे।
दोस्रो दिन (बिहीबार) निवेदक पोखरेलका कानुन व्यवसायीहरुले जवाफी वहस थालेका छन्। बिहीबार रिट निवेदनको पक्षबाट बहस गर्दै पूर्व महान्यायाधिवक्ता बडालले विश्वराज पोखरेलको पक्षमा अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे।
पोखरेलले हालसम्म कुनै पनि विभागीय कारबाही समेत नभोगेकाले आईजीपी बढुवाका लागि उनी मात्र योग्य रहेको बडालको तर्क छ।
पोखरेल पुरस्कारमा पनि अगाडि रहेको, विभागीय कारबाही पनि नभोगेको अधिकृत भएकाले आईजीपी बढुवाका लागि उनी योग्य भएको बडालले दाबी गरे। १७ महिना अघि नै वढुवाका लागि योग्य र कार्यसम्पादन मूल्याकन भएको व्यक्ति भएकाले सरकारको निर्णय रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने उनको माग छ।
धीरजप्रताप सिंहको एआईजी बढुवा पनि भर्खर मात्रै भएको, पुरस्कार पनि कम रहेको र विभागीय कारवाही समेत भोगेकाले उनी योग्य नभएको बडालले जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।