काठमाडौं– अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बिहीबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। सो सेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा जेठ ५ गते हुनेछ भने ढिलोमा जेठ २० गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।