काठमाडौं– बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा विभिन्न गन्तव्यमा जाने उडानको तयारी भइरहेको थियो। यात्रुहरू जहाज उड्ने प्रतीक्षामा थिए।
केही दिनदेखिको खराब मौसमका कारण उडान 'डिले' लगायतका समस्या हुँदै आएको छ। त्यसैक्रममा बिहान ९ बजेर ४० मिनेटमा विमानस्थलमा आएको एउटा फोनले तरंग मच्चियो। जुन फोनले आन्तरिक उडान कक्षमा उडान पर्खिरहेका यात्रुहरूबीच मात्र होइन सिंगो विमानस्थलमा आतंक सिर्जना भयो। त्यसपछि सबै यात्रुहरूलाई बाहिर निकालियो।
विमानस्थल प्रशासनदेखि सुरक्षा निकाय र नेपाली सेनासम्म खबर पुग्यो। तत्कालै नेपाली सेनाको बम डिस्पोजल टोलीले सम्पूर्ण विधि प्रयोग गरेर आन्तरिक उडानको सबै क्षेत्रमा 'सर्च' गर्यो। तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मी विमानस्थलमा परिचालित भए। तर, केही पनि शंकास्पद वस्तु भेटिएन।
विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा विभिन्न ७ स्थानमा बम राखिएको भन्दै पाकिस्तानी नम्बरबाट फोन आएको विमानस्थल प्रशासनले जनाएको छ। फोन गर्ने व्यक्तिले आन्तरिक उडानतर्फ ७ ठाउँमा बम राखिएको २ घण्टाभित्र विष्फोट हुने चेतावनी दिए।
तर, विमानस्थलमा कतैपनि बम नभएको पुष्टि भएपछि बिहान ११ बजेर १० मिनेटदेखि उडान पुनः सुरू गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
घटनाका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।