भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा सञ्चालनमा ल्याउन लागेको सिद्धार्थ नमूना अटो भिलेज अलपत्र परेको छ।
नगरपालिकाले सिद्धार्थनगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न सकेको छैन। नगरक्षेत्रमा यत्रतत्र छरिएका ग्यारेजलाई एकै स्थानमा ल्याई सञ्चालन गर्न नगरपालिकाले अटो भिलेज स्थापनाका लागि ग्यारेज श्रमिक तथा व्यवसायीहरुसँग सम्झौता गरेको थियो।
अटो भिलेजका लागि श्रमिकहरुले जग्गा खरिद गरेमा सडक, खानेपानी, विद्युत् लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौतामा उल्लेख थियो। करिब ३ सय श्रमिकमध्ये अधिकांशले एकै स्थानमा ग्यारेज सञ्चालनका लागि बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा १० बिघा जग्गा खरिद गरेका थिए।
तर, ५ वर्ष बितिसक्दा पनि अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकहरुले गुनासो गरेका छन्।
‘नगरपालिकासँगको सम्झौता अनुसार बैंकबाट ऋण लिएर भए पनि सबैले जग्गा खरिद गरी भवन समेत बनायौं, तर अहिले नगरपालिकाले अटो भिलेज सञ्चालनमा आनाकानी गर्दा समस्यामा परेका छौं’, नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले गुनासो गरे।
अटो भिलेजका लागि आवश्यक विद्युत् आपूर्ति नगरिएकाले सञ्चालनमा आउन नसकेको हो। विद्युत् आपूर्ति भए भोलिपल्टदेखि नै भिलेज सञ्चालनमा आउने भए पनि यसतर्फ नगरपालिकाले चासो नदिँदा विद्युत् जडान हुन नसकेको अध्यक्ष सारुमगरको गुनासो छ।
‘हामी विद्युत् कार्यालय गए नगरपालिका पठाउँछ, नगरपालिका जाँदा सुनुवाइ नै हुँदैन’, उनले भने, ‘हामी ऋणमा डुब्न लाग्यौं, हाम्रो व्यथा कसले बुझ्ने?’
अटो भिलेज सञ्चालनमा आउन नसक्दा भिलेजमा व्यवसाय सञ्चालन गरेका व्यवसायीले पनि पुनः बजार क्षेत्रमा फर्किएर काम गर्न थालेका छन्।
‘नगरपालिकाको विश्वासमा परेर श्रमिकहरुले भिलेजका लागि लाखौं रुपैयाँ लगानी गरिसकेका छन्। विद्युत् नआएसम्म कसैले पनि थप लगानी लगाउन चाहेका छैनन्’, सारुमगरले भने।
अटो भिलेजमा ग्यारेज खोलेर बसेका व्यवसायी राजेश धवल बैंकबाट ऋण लिएर जग्गा खरिद गरी व्यवसाय सञ्चालन गर्दा आफू धरासायी हुने अवस्थामा पुगेको बताए। राजमार्गमा राम्ररी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा अटो भिलेजमा आउन प्रोत्साहन गरेको नगरपालिकाले अहिले बेवास्ता गरेको गुनासो पोखे।
‘बैंकबाट ऋण लिएर यहाँ एक्लै बिजुलीबिना व्यवसाय सञ्चालन गरेको छु। तर कुनै दिन त बोहनी समेत हुँदैन’, उनले भने, ‘५ वर्षदेखि ऋणको ब्याज तिर्दै आएका छौँ। यस्तै अवस्था रहने हो भने साँवा कसरी तिर्ने हो भन्ने चिन्ताले सताएको छ।’
अटो भिलेजमा लगानी गरेका श्रमिक तथा व्यवसायीहरुले विद्युत् आपूर्तिका साथै सडकलाई ग्राभेल गर्न माग गर्दै आएका छन्। भिलेजमा बिजुलीको पोल तानिए पनि ट्रान्सफर्मर जडान गरिएको छैन।
२०७० सालमा भएको सम्झौताको बुँदा नम्बर ४ मा अटोमेकानिक्स सम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीलाई सिद्धार्थ अटो भिलेज बाहेक अन्यत्र व्यवसाय गर्न नपाउने उल्ले छ। तर, सिद्धार्थ अटो भिलेज अलपत्र अवस्थामा रहिरहँदा नगरपालिकाले भने आफ्नै सम्झौता विपरीत ठूला व्यवसायीहरुका लागि लुम्बिनी रोडमा ‘मिनी अटो भिलेज’ सञ्चालन गर्न छुट दिएको पाइएको छ।
यसरी व्यवसायीलाई अन्यत्र मिनी अटो भिलेज सञ्चालन गर्न दिनुमा सिद्धार्थनगर नगरपालिकाका मेयरको नातावाद कारक रहेको आरोप कतिपय व्यवसायी लगाउँछन्। नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका सचिव दिलबहादुर श्रीषका अनुसार, मेयर हरिप्रसाद अधिकारीका दाइ भीम अधिकारीले लुम्बिनी रोडमा मिनी अटो भिलेज सञ्चालन गरेकाले सिद्धार्थ अटो भिलेज सञ्चालनमा नगरपालिकाले बेवास्ता गरेको हो।
‘नगरपालिकाको नीति विपरीत मेयरका दाइले मिनी अटो भिलेज सञ्चालन गरेर मासिक लाखौं रुपैयाँ भाडा असुल्दै आएका छन्’, श्रीषले भने, ‘त्यसैले मेयर अधिकारीले हामी श्रमिकहरुको अटो भिलेज सञ्चालनमा ल्याउन चाहेका छैनन्।’
उनले नगरपालिका र युनियनबीच पाँच वर्षअघि भएको सम्झौता कार्यान्वयन नभए आफूहरु कडा आन्दोलन उत्रिने चेतावनी दिए।
यता, मेयर अधिकारीले अटो भिलेजका लागि खरिद गरिएको जग्गा व्यक्तिगत भएको र भविष्यमा समस्या आउन सक्ने भएकाले सञ्चालनमा ल्याउन हतार नगरिएको बताए।
‘श्रमिकहरुले खरिद गरेको जग्गा व्यक्तिगत हो, यसमा नगरपालिकाले लगानी लगाउँदा भविष्यमा समस्या आउन सक्ने भएकाले हामीले हतारमा लगानी गर्न चाहेका छैनौं।’
तर, नगरपालिकाको नीति अनुसार नै श्रमिकहरुले व्यक्तिगत रुपमा जग्गा खरिद गरेपछि मात्र भिलेज सञ्चालनका लागि सहयोग गर्ने भन्दै नगरपालिकाले तत्कालीन समयमा सम्झौता गरेको थियो।
केही महिनाअघि भिलेजमा टान्सफर्मर जडानका लागि नगरपालिकाका कर्मचारी विद्युत् कार्यालय गए पनि व्यवसायीहरुले ट्रान्सफर्मरको क्षमताबारे जानकारी नगराएकाले जडान नगरिएको मेयर अधिकारी बताउँछन्।
व्यवसायीहरुले भने भिलेज सञ्चालनका लागि ५ सय केभीए क्षमताको टान्सफर्मर आवश्यक रहेको बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।