कोलम्बो–देशमा देखिएको आर्थिक संकटविरुद्ध एकजुट हुन श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले सबैलाई अपिल गरेका छन्। मुलुकको संकट सबैको साझा संकट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा उनको जोड छ।
विश्व श्रमिक दिवसको अवसरमा सन्देश प्रकाशित गर्दै उनले आर्थिक संकट समाधान नहुँदासम्म श्रमिकहरूको हक अधिकार पनि सुनिश्चित गर्न नसकिने भएकाले पहिला मुलुकको आर्थिक संकट समाधान गर्नुपर्नेमा जोड दिए।
मुलुकमा आइपर्ने कुनै पनि ठूला समस्याहरूको समाधान कुनै व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न नसक्ने भएकाले सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।
आर्थिक संकट समाधानको नेतृत्व लिन सरकार तयार रहेको र त्यसमा सबै पक्षको पर्याप्त साथ चाहिने उनले बताए।
राष्ट्रपति राजापाक्षेले मुलुकको संकट समाधानका लागि सरकारसँगै मुख्य रुपमा दलहरू पनि जिम्मेवार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
श्रीलंकामा पछिल्लो समय आर्थिक र राजनीतिक संकट उत्पन्न भएको छ। आर्थिक संकटका कारण वस्तु तथा सेवाको अभाव र अत्यधिक मूल्य वृद्धि भएपछि राजनीतिक संकट पनि उत्पन्न भएको हो।
वस्तु तथा सेवाको अभाव र मूल्य वृद्धिविरुद्ध आम नागरिक आन्दोलित भएपछि तत्कालीन सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि राजनीतिक संकट देखिएको थियो।
अहिले सरकारमा अन्य नेताहरूलाई लगिएको भए पनि राजनीतिक सन्तुलन मिल्न बाँकी नै रहेको छ भने सबैलाई समेटेर संयुक्त सरकार बनाउन राष्ट्रपति राजापाक्षेले प्रयास गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।